युवा संघको नेतृत्वमा प्रतिस्पर्धा : ओलीको दबाबबीच थेबे र पुरी आमने–सामने


पोखरा । नेपाल युवा संघको १०औं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि प्रतिस्पर्धात्मक मोडमा पुगेको छ। एमाले नेतृत्वले हालका अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत बनाउने प्रयास गरे पनि सुमन पुरीको कडा अडानका कारण निर्वाचन अनिवार्य भएको हो। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अध्यक्ष मण्डलले सर्वसम्मतिको प्रयास गरे पनि पुरी अडिग रहँदा मतदानको बाटो रोजिएको हो।
चीन भ्रमणमा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन पुरीलाई रहेको चर्चा महाधिवेशनस्थल पोखरा सभागृहमा व्यापक छ। मदन भण्डारी फाउन्डेसनसँग पुरीको नजिकको सम्बन्ध रहेको बताइन्छ, जसले भण्डारीको अप्रत्यक्ष आशीर्वाद रहेको संकेत दिन्छ। यता, ओलीको प्रत्यक्ष साथमा रहेका थेबे एमालेको आधिकारिक उम्मेदवारको हैसियतमा मैदानमा उत्रिएका छन्।
थेबे र पुरी दुवै प्यानलसहित उम्मेदवार बनेका छन्। थेबे समूहबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही तथा विभिन्न सचिवहरूमा निशा लिम्बू, मोबिन आलम, मदन भण्डारी, देबु बस्नेत उम्मेदवार बनेका छन्। पुरी समूहबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेम शर्मा, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चित्ररञ्जन यादव, र खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ।
पहिला अध्यक्ष बन्ने आकांक्षा राख्ने अन्य नेताहरू—महाराजा गुरुङ, प्रकाश गौतम, र मदन भण्डारी अन्ततः दुई ध्रुवमा समाहित भएका छन्। गौतम पुरी समूहबाट उपाध्यक्षमा छन् भने महाराजा गुरुङ थेबे पक्षमा दोहोरिएर मैदानमा उत्रिएका छन्।
एमालेको केन्द्रीय नेताहरूमा विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ पुरीको पक्षमा रहेको चर्चा छ। स्रोतका अनुसार पुरीको प्यानल निर्माणमा पूर्व राष्ट्रपति भण्डारीको पनि भूमिका रहेको देखिन्छ।
युवासंघका पूर्व अध्यक्ष राजीव पहारी र महेश बस्नेत भने खुलेर थेबे पक्षमा उभिएका छन्। एमाले नेतृत्वले लामो समयपछि भ्रातृ संगठनको निर्वाचन निषेधको चलन तोड्दै प्रतिस्पर्धामार्फत नेतृत्व चयन गराउने वातावरण बनाएको छ।
१ सय ५१ पदका लागि निर्वाचन हुँदैछ भने लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा समेत मतदान हुनेछ। १ हजार ७ सय ५२ प्रतिनिधिले सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ, तर प्राविधिक तयारीका कारण मतदान दिनभर लम्बिन सक्नेछ। नतिजा मंगलबारभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ।
थेबे भन्छन्:
“म एमालेको आधिकारिक उम्मेदवार हुँ। हाम्रो संगठन समृद्धि र राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित छ। बेरोजगारी अन्त्यका लागि तीन वर्षभित्र २० लाख रोजगारी सृजना गर्ने लक्ष्यसहित अघि बढेको छु। यो महाधिवेशनले नेपालका युवामा सम्भावनाको ढोका खोल्नेछ। पार्टी नेतृत्व र अध्यक्ष कमरेड ओलीको छलफलपछि म उम्मेदवार बनेको हुँ।”
पुरीको भनाइ:
“अध्यक्ष कमरेड ओलीले भनेको हो– सके सर्वसम्मत, नभए स्वच्छ प्रतिस्पर्धा। मैले दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा संगठनमा नवीन कार्यक्रम ल्याएँ, महासचिवको रूपमा पनि भूमिका निर्वाह गरेँ। अहिले अध्यक्षमा प्रतिस्पर्धा गर्न पाएर संगठन थप चलायमान भएको छ। विश्वास छ, अध्यक्ष कमरेडले मलाई पनि साथ दिनुहुन्छ।”
एमाले नेतृत्वले सर्वसम्मत नेतृत्व चाहे पनि युवा संघमा पहिलोपटक बलियो प्रतिस्पर्धा हुँदैछ। थेबे र पुरीको आमने–सामने भिडन्तबाट कसले बाजी मार्ने भन्ने अन्तिम निर्णय प्रतिनिधिहरूको मतदानले गर्नेछ।
