नेपाल एयरलाइन्सको सुधार बिना पर्यटन क्षेत्रको विकास सम्भव छैन : आरजु राणा


काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको पर्यटन क्षेत्रको विकासमा सबैभन्दा ठुलो अवरोध कनेक्टिभिटी रहेको बताएका छन् ।
सोमवार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएका हुन् ।नेपाल एयरलाइन्सको व्यवस्थापनमा सुधार नगरी पर्यटनमा प्रगति गर्न कठिन हुने उनको भनाइ छ । उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको संस्थागत सुधार गर्न आवश्यक रहेको बताए । उनले वायुसेवा निगमलाई यही अवस्थामा सञ्चालन गर्न नसकिने उल्लेख गर्दै कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारे पुनर्विचार गर्न आवश्यक रहेको बताए ।
उनले भने ‘पर्यटन क्षेत्रको विकासको लागि हामीलाई सबैभन्दा धेरै समस्या परेको विषय कनेक्टिभिटी नै हो । म जहाँ पनि जान्छु केनक्टिभिटीको कुरा गर्छु, रुट पनि माग्छु तर मलाई लाग्छ हामी रुट त मागिरहेका छौँ । तर नेपालको प्लेन त चारवटा छ कसको लागि मागिरहेको छु जस्तो लाग्छ । त्यस कारण एकचोटि यो नेपाल एयरलाइन्सलाई पुरै ओभर अलिङ नगर्यो भने गाह्रो छ । पहिला विद्यार्थी हुँदा कुनै पनि एयरलाइन्स नचढेर नेपाल एयरलाइन्स नै चढ्थ्यौँ । अहिले चाहिँ नेपाल एयरलाइन्स चढ्नलाई व्यवस्थापकीय सुधार हुनुपर्छ । हाम्रो ध्वजावाहक भएको कारण पनि यसलाई कुन मोडलमा राख्ने हो यसको सुधार गर्नैपर्छ ।’
मन्त्री राणाले पर्वतारोहणमा आधारित पर्यटनको विकासका लागि तालिमको व्यवस्था गर्न आवश्यक रहेको समेत बताए ।
