Shivam

अरब सागर र बंगालको खाडीबाट सक्रिय भयो मनसुन, देशका विभिन्न भागमा चट्याङसहित वर्षाको सम्भावना

0
Burger

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुसँगै बंगालको खाडी तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो मिश्रित मौसमी प्रणालीका कारण अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा वा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार, हाल मधेस र लुम्बिनी प्रदेशसहित देशका धेरै पहाडी भूभागमा आंशिकदेखि साधारण बदलीको अवस्था छ । यसैबीच, कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मनसुनको पछिल्लो स्थिति

दक्षिण–पश्चिम मनसुन हाल अरब सागरको मध्य भाग, महाराष्ट्र, मुम्बई, कर्नाटक, बेङ्गलुरु, तमिलनाडु, तेलङ्गाना र आन्ध्र प्रदेशका केही भागहरूमा सक्रिय भइसकेको छ । यसका साथै, पश्चिम–मध्य र उत्तरी बंगालको खाडी क्षेत्र हुँदै त्रिपुरा, मणिपुर, नागाल्यान्ड, अरुणाचल प्रदेश, असाम र मेघालयका केही भूभागसम्म पनि मनसुन पुगेको छ । बाँकी भूभागमा समेत मनसुन विस्तार हुँदै गएको महाशाखाले जनाएको छ ।

दिउँसोको मौसम पूर्वानुमान

दिउँसो देशभरका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको पनि आँकलन गरिएको छ ।

रातिको मौसम पूर्वानुमान

रातिको समयमा मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ । केही पहाडी स्थानहरूमा चट्याङसहित हल्का वा मध्यम वर्षा हुन सक्नेछ भने उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ ।

सतर्कता अपनाउन आग्रह

चट्याङसहितको वर्षाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले मौसम महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । विशेषगरी पहाडी क्षेत्रमा रहेका नागरिकहरूलाई सम्भावित जोखिमबाट जोगिन सावधानी अपनाउन अनुरोध गरिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।