सिमा लामिछानेकाे कविता “प्रतिक्षा ´´
कविता
प्रतिक्षा
एउटा असाधारण पर्खाइमा
रातदिन अभ्यस्त मेराे आखाँलाई नसाेध
थकाइ कति लागेकाे छ भनेर
जुन घडीलाई कल्पेर
भित्ताकाे घडीलाई एकाेहाेराे नियालिरहन्छु
ती पलहरूलाई नसाेध
मेराे धैर्यता कति छ भनेर
तिमी फर्कने हल्ला मात्र सुनेर
मेराे हातहरूमा उम्रिएका काडाहरूलाइ नसाेध
मनकाे माैसम कस्ताे छ भनेर
बाटाे हेर्दा हेर्दै जुन घाम
जून बनेकाे थाहा हुन्न थियाे मलाई
निदाउन संघर्ष गर्दा गर्दै जुन रातहरू
उषाकाे अतीत बनी सकेकाे हुन्थ्याे
बटुल्न खाेज्दा खाेज्दै जुन शीतहरू
वाफ बनी उडिसकेकाे हुन्थ्याे तिम्राे शहर तिर
यी अनुभूतिहरूलाई नसाेध
तिम्राे याद कति आउछ भनेर ।
म झुट बाेलूँ
तिमी मेराे आत्मा बुझ्दछाैं
म दैनिकीमा हराउ
तिमी वायुसँगै परस्पर डुल्दछाैं
थाहा छैन याे प्रतीक्षा उत्तारार्धमा के छ मेराे लागि
एक यूग भरकाे खुशि
या अनन्तकाे निराशा
तर म यति जान्दछु
इन्द्रेणी रंगहरूले सुसज्जित छन् मेरा कल्पनाहरू
विशाल प्रेमले सिंचेकाे छु घरका आँगनहरू
अनवरत तपस्याले जितेकाे छु बाच्न सक्ने विश्वासहरू
र आफ्नाे सम्पूर्ण अस्तित्व बिछ्याएकाे छु तिमी आउने बाटाेहरूमा
अब यति भन मलाई
तिमीले भनेर गए जस्तै
चाँडै फर्की आउछाैं नि तिमी ?
सिमा लामिछाने
कावासाेती-९ नवलपुर