बुटवलको डिजिटल फड्को : स्मार्ट सिटीको दिशामा अग्रसर आधुनिक नगर
सूचना प्रविधिदेखि सेवा प्रवाहसम्म, स्मार्ट सोच र समावेशी योजनाले बुटवल बदलिँदैछ


बुटवल।“सपनााको शहर“को कल्पनालाई यथार्थमा रूपान्तरण गर्ने दिशामा अघि बढेको बुटवल उपमहानगरपालिका अब स्मार्ट सिटी बन्ने यात्रामा रहेको छ । सूचना प्रविधि, पूर्वाधार सुधार, ई–गभर्नेन्स, सार्वजनिक सेवा पहुँच, ऊर्जा व्यवस्थापन, वातावरण संरक्षण, डिजिटल शिक्षा र स्वास्थ्य प्रणालीजस्ता आयाम समेट्दै बुटवलले स्मार्ट, सुरक्षित, समावेशी र दिगो सहरको ढोका खोलेको छ।
नगर प्रमुख खेलराज पाण्डेयको सकृयता र भिजन अनुसार बुटवललाई अधुनिक शहर बनाउने योजनाअनुरुप स्मार्ट सिटीको सोचलाई विकास गरिेएको छ । नगरप्रमुख पाण्डेयले उपमहानगरले पूर्वाधार विकाससंगै डिजिटल सोचमा स्मार्ट बन्ने यात्रा सुरु गर्ने बताए ।
यसका जानकारहरुका अनुसार स्मार्ट सिटी अवधारणा अनुसार पालिकामा ई–गभर्नेन्स, सार्वजनिक सूचना प्रणाली, जिआईएस आधारित भू–सूचना सेवा, अनलाइन सेवा प्रणाली लगायतका डिजिटल माध्यमलाई प्राथमिकता दिनुपर्ने हुन्छ । हाल उपमहानगरको अधिकांश सेवाहरू (जन्ममृत्यु दर्ता, सिफारिस, कर, प्रमाणपत्र) अनलाइन प्रणालीमार्फत उपलब्ध छन्। साथै, नगरको आफ्नै मोबाइल एप, सार्वजनिक वाइफाइ, र डिजिटल डिस्प्ले बोर्ड स्थापना योजनामा छन्।
बुटवलमा अहिले करिब ३ सय किमीभन्दा बढी सडक सञ्जाल विस्तार भएको छ। तीमध्ये अधिकांश सडकहरू कालोपत्रे, ढलसहितको, र नाली व्यवस्थित छन्।सोलार स्ट्रीट लाइट र हाइमास्ट बत्तीले सहर उज्यालो बनेको छ।ट्राफिक चोक, मिलनचोक, कालिकाचोकमा स्मार्ट ट्राफिक लाइट जडान भइसकेका छन्।जीपीएस ट्र्याकिङ प्रणालीसहितको शहरी बस सेवा सार्वजनिक निजि संस्थाहरुले बुटवलमा सञ्चालन गरिरहेका छन भने सरकारी तवरबाट बुटवलले तयारी गरिरहेको छ।यसले यातायात व्यवस्थापनमा प्रविधिको प्रयोग, ट्राफिक नियमन र नागरिक सुविधा वृद्धि गरेको छ।
स्मार्ट सिटी हुनु भनेको डिजिटल शहर मात्र नभएर स्वस्थ, हरित र समावेशी शहर पनि हुनु रहेको छ । बुटवलले त्यसैअनुसारका निती तथा कार्यक्रहरुलाई योजनाबद्ध रुपमा अगाडी बढाएको छ। नदी किनारमा हरियाली ,सार्वजनिक स्थानमा वृक्षारोपण,कौसी खेती प्रवद्र्धन,खुला ठाउँ संरक्षण,हरित भवन निर्माण नीति लागू जस्ता विषयहरु उपमहानगरको प्राथमिकतामा रहेको नगर प्रवक्ता शिव रानाले बताए । उनले बुटवलाई स्मार्ट बनाउन चाहिने सुचकहरुलाई ख्याल गरेर काम गरिरहेको बताए ।
बुटवलले स्मार्ट शिक्षा प्रणाली अन्तर्गत बुटवलका सरकारी विद्यालयहरूमा डिजिटल बोर्ड, ई–लर्निङ, बालमैत्री कक्षा कोठा, छात्रवृत्ति व्यवस्थापन प्रणाली जस्ता अभ्यास विस्तार गरिरहेको छ । उपमहानगरले कूल बजेटको २० प्रतिशत बढि बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएको शिक्षा शाखाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाले वडावडामा स्वास्थ्य केन्द्र स्थापना गरेर वडाबाटै स्वास्थ्य सेवा दिइरहेको छ । यस्तै , मोतीपुर र बेलबासमा अक्सिजनसहितको अस्पताल,लुम्बिनी प्रादेशिक अस्पतालको सुपर स्पेशलिटी भवनका लागि सम्वन्य,आम्दा अस्पतालको स्तरोन्नति लगाएतका स्वास्थ्य पूर्वाधार विकासका काम गरिरहेको छ , जसले बुटवल दृघकालिन रुपमा स्मार्ट नगर बनाउन सहयोगी बन्नेछ।
बुटवलले भविष्यको स्मार्ट शहरको परिकल्पना गर्दै केही ड्रिम प्रोजेक्टलाई आत्मसाथ गर्दै अगाडी बढाएको छ । जसमा बुटवल ट्रेड टावर,लुम्बिनी बस टर्मिनल व्यवसायिक भवन, सिटी सेन्टर, सेमलार कृषि थोक बजार,ढुवानी ग्राम, बधशाला र धेरै पर्यटकीय पूर्वाधारहरु पनि रहेका छन् । बुटवलले डिजिटल डाटा बैंक,जिआइएस् आधारित योजनापत्र, र सूचना प्रवाहको एकद्वार प्रणालीमा जोड दिइरहेको छ। यसले उपमहानगरका निर्णय पारदर्शी, डेटा आधारित र जनउत्तरदायी बनाउनेछ।
बुटवलले समावेशी विकासलाई स्मार्ट सिटीको आधार मानेको छ। महिलाका लागि उद्यमशीलता तालिम र सीप केन्द्र,वृद्धमैत्री सेवा केन्द्र र सिटिजन्स हेल्प डेस्क,युवाका लागि आइडिया हब, स्टार्टअप इनक्युबेसन,सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणाली,बाल अधिकार प्रवद्र्धन र बालमैत्री योजना सञ्चालनमा छन्।स्मार्ट सिटी बन्नका लागि योजना मात्रै नभएर दूरदृष्टि, इच्छाशक्ति र जनसहभागिता आवश्यक हुन्छ। बुटवल उपमहानगरपालिकाले हरेक योजनामा नागरिकको सशक्त सहभागिता सुनिश्चित गर्दै आएको छ।
