Shivam

भित्रि सडकमा फेरिँदै बुटवल : चिटिक्क सडक, सन्तुष्ट सर्वसाधारण

0
Burger

 

बुटवल । धुलो, हिलो र खाल्डाखुल्डीका कारण आलोचना खेपिरहेकै बुटवलको भित्री सडक आजभोलि चिटिक्क देखिन थालेका छन् । हिजो सडक हिँड्दा जुत्ता फाल्नुपर्ने अवस्था थियो, आज त्यो सडकमा बालबालिकाले साइकल कुदाउँछन् । सवारी चाप बढेको बुटवलमा ट्राफिक सहज हुन थालेको छ भने पैदल यात्रुका लागि हिँड्न सकिने बाटो खुलेको छ ।

यस परिवर्तनको पछाडि छ बुटवल उपमहानगरपालिकाको नयाँ योजना, स्पष्ट प्राथमिकता र सक्रिय कार्यान्वयन । विशेषगरी भित्री टोलहरु बुटवल १०मा रहेको अभियान पथ (चौराहा देखी योगिकुटी) , बुटवल ८मा रहेको शान्तिपथ, बुटवल ४मा रहेको राममन्दिर लाईन, बुटवल ११मा रहेको सिरान गाउँ मजुवा देखि बुद्धनगर जाने सडक, बुटवल ११मा रहेका गलामी पथ,शेर पथ , शान्ती पथ , इन्द्र पथ , बुटवल ८मा रहेको दशरथ पथ , शान्ति पथ लगाएता तिन दर्जन बढि भित्रि सडकहरु स्तरोन्नती तथा निर्माण भैरहेका छन् । बुटवल उपमहानगरपालिका अनुसार सडक मर्मत र पुनर्निर्माणलाई तीव्र पारिएको छ ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शहरलाई विकास गर्न पूर्वाधारको जग बलियो चाहिने हुँदा सडकनै पहिलो जग भएकोले भित्री सडक सुधारमा जोड दिएको बताए । उनले देशकै मध्यभागमा पर्ने र सहज पहुँच भएकाले बुटवल सबैतिरको रोजाईमा पर्ने बताउँदै बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने योजना रहेको बताए ।

नगरपालिकाले आफ्नै स्रोत, प्रदेश सरकार र केही सहकार्यका परियोजनामार्फत सडक पूर्वाधार विकासको कार्य अघि बढाएको हो ।केवल कालोपत्रे सडक बनाउनु नै पर्याप्त होइन भन्ने बुझ्दै नगरपालिकाले सडकसँगै ढल, पानीको निकास र सडक छेउछाउको ड्रेनेज व्यवस्थापनमा पनि ध्यान दिएको छ ।बुटवल उपमहानगरपालिका शहरी पूर्वाधार माहाशाखा प्रमुख ई. गौतम रौनियारका अनुसार, “पहिला सडक बनाउने र वर्षामा फुट्ने चक्र दोहोरिरहन्थ्यो, अहिले हामीले सडक बनाउनुअघि नाला बनाउने, ढल जाँच्ने र आवश्यकताअनुसार मर्मत गर्ने नीति लिएका छौं । यो दिगो विकासको एउटा पाइला हो ।”

देविनगरका स्थानीयवासी राम प्रसाद भण्डारीको घरको छेउमा सडक बनाइएको छ । उनी भन्छिन्, “हामीलाई लाग्थ्यो—हाम्रो टोललाई ख्याल गर्ने कोही छैन । तर अहिले चिटिक्क पिच भएको सडक बनेपछि, मान्छे आउँछन्, टहलिन्छन् । हामीलाई शहरको भाग जस्तै अनुभूति हुन्छ ।”

रामनगरका बासिन्दा गोविन्द पौडेल भन्छन्, “सडक बनेपछि घरको मूल्य बढेको छ । अब व्यापार गर्न सजिलो भयो । ग्राहक आइपुग्छन्, गाडी सहज गुड्छ । हामी भित्र टोलका मान्छे पनि गौरवले बाहिर बोल्न थालेका छौं ।”
सडक निर्माणसँगै केही चुनौतीहरू पनि देखिएका छन् । कतिपय ठाउँमा ढल बग्ने समस्या समाधान नभएकाले कालोपत्रे सडकमा फोहोर पानीको असर देखिन थालेको छ । केही स्थानमा विद्युत र इन्टरनेट केबल व्यवस्थापन नमिलेकोले पोल हटाउन ढिलाइ भइरहेको छ ।

तर उपमहानगरका अनुसार यी समस्या क्रमशः समाधान गरिँदैछन् । विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक र खानेपानी संस्थासँग सहकार्य गरी सडक मुनिका युटिलिटी व्यवस्थापन पनि एकीकृत रूपमा गरिँदैछ ।

बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा मात्रै सडक सुधारमा ३० करोड बढि रुपैयाँ विनियोजन गरेको छ । बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले स्मार्ट सडकको अवधारणामा प्रवेश गर्ने योजना रहेको बताउँदै आगामी वर्षदेखि व्यस्त सडकहरूमा डिजिटल ट्राफिक संकेत, सीसीटीभी निगरानी र अटोमेटेड पथप्रकाश जडान गर्ने योजना रहेको बताए ।

त्यसैगरी, हरियालीयुक्त सडक किनार, साइकल लेन र पैदल यात्रुका लागि छेउको ‘फुटपाथ जोन’ निर्माण गर्ने नीति लिइएको छ ।सडक सुधारलाई केवल पूर्वाधारको विकास होइन, सामाजिक मनोविज्ञानको परिवर्तनका रूपमा पनि बुझ्ने गरिएको छ । शहर सुन्दर भएपछि मानिसको मनोबल बढ्छ, सरसफाइप्रतिको चेतना आउँछ, निजी घर वरिपरि सफा राख्ने प्रयास हुन्छ । भौतिक विकासले चेतनाको स्तरमा समेत प्रभाव पार्ने कुरा बुटवलमा देखिन थालेको छ ।सडक मात्रै होइन, सडकसँग जोडिएको सम्पूर्ण शहरी संस्कार, व्यवहार र गति बुटवलमा बदलिँदैछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।