लागु पदार्थ दुर्व्यसनी विरूद्ध विद्यार्थी सचेतना चितवनमा जारी
भरतपुर, १२ असार
लागुऔषध दुर्व्यसनीविरुद्ध विद्यार्थीहरु मार्फत जागरण ल्याउने अभियान चितवनमा जारी रहेकाे छ । रुपान्तरण र युवा संस्थाको आयोजना तथा सेन्ट्रल कलेज अफ भोकेसनलको सहयोगमा तीन जिल्लामा अभियान जारी रहेकाे हो । रुपान्तरण र युवा नवलपुरका अध्यक्ष इश्वर गैरेका अनुसार याे अभियान ४० दिनसम्म चल्ने छ ।
चितवन, नवलपुर र तनहुंँका विद्यार्थीलाई दुर्व्यसनी विरुद्ध जागरण फैलाउन सचेतना तालिम समेत दिइने छ । हालसम्म ९ विद्यालयमा अन्तरक्रिया गरिएको छ । यस अघिका अभियानमा रूपन्देही र परासी जिल्लामा विद्यार्थीहरूलाई यस्तै किसिमका जागरण अभियान चलाईएकाे संस्थाका सचिव घनश्याम सुवेदीले जनाउनु भएकाे छ । युवाहरु बढी दुर्व्यसनीमा परेकाले सचेतना अभियान चलाइएको बताईएकाे छ । दुर्व्यसनीमा फस्न नदिन सचेतना कार्यक्रमलाई स्कुलतहमा ल्याईएकाे, गाउँ–टोलमा सन्देश वाहकका रुपमा समेत विद्यार्थीहरु सक्रिय हुने अपेक्षा लिईएकाे छ । आइतबार भरतपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाश मल्लले दुर्व्यसनी विरुद्ध हरेक टोल–टोलबाटै जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गोपाल पौडेलले चितवनमा लागुऔषध मुद्धाको संख्या बढेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष ९५ वटा लागुऔषध सम्बन्धि मुद्धामा १ सय २६ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षमा ९४ वटा मुद्धा दर्ता भएकोमा १ सय ५२ जना पक्राउ परेका छन् ।
उहाँले लागुऔषध मुद्धामा अधिकांश युवा उमेरकै बढी संलग्न भएको बताउनुभयो । सामाजिक अभियान्ता ज्ञानुजंग लामाले लागुऔषधको दुर्व्यसनीमा लाग्न नदिन हरेक परिवार सतर्क बन्नुपर्ने बताउनुभयो । सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी)ले विद्यार्थीले गाउँतहमा लागुऔषधविरुद्धको अभियान चलाउन अपेक्षा गरिएको बताउभयो ।