Shivam

रुपन्देही–३ को उपनिर्वाचनमा घण्टी बज्न थालेको संकेत: एम. डि. न्यौपाने पुनः प्रतिस्पर्धाको केन्द्रमा

0
Burger

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचनलाई लिएर राजनीतिक घमासान सुरु भइसकेको छ। यिनै प्रतिस्पर्धाको घेरामा अहिले पुनः एकपटक चर्चाको केन्द्रमा छन् – एम. डि. न्यौपाने।

अघिल्लो संसदीय निर्वाचनमा एमालेका सचिव छविलाल विश्वकर्मा र समाजवादी पार्टीका महासचिव घनश्याम भुषाल जस्ता दिग्गजसँग प्रतिस्पर्धा गरेर चर्चामा आएका न्यौपानेले यसपटक ‘घण्टी’ चुनाव चिन्हबाट पुनः मैदानमा उत्रने संकेत दिएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, न्यौपानेको पुनः सक्रियता केवल व्यक्तिगत आकांक्षा होइन, यो स्थापित राजनीतिक संरचनाप्रति जनतामा बढ्दो असन्तोष र वैकल्पिक नेतृत्वको चाहनाको प्रतिफल हो।

निकट स्रोतहरूका भनाइ अनुसार, न्यौपाने हालै रुपन्देहीको भ्रमणमा रहेर विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, क्षेत्रीय विज्ञ, नागरिक समाजका अगुवा र युवाहरूसँग सघन छलफलमा व्यस्त रहेका छन्।

सोही क्रममा, उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको खुलेको छ। यद्यपि उनले औपचारिक रूपमा उम्मेदवारीको घोषणा गरिसकेका छैनन्, तर स्रोतका अनुसार भित्रि रणनीति पूर्ण रूपमा तयार छ।

उम्मेदवारी मात्र होइन, प्रचारप्रसार, सञ्जाल विस्तार र गठबन्धन निर्माणको दिशामा समेत न्यौपानेले उल्लेखनीय सक्रियता देखाएका छन्।

स्थानीय तहका राजनीतिक पण्डितहरू भन्छन्, “यदि न्यौपानेले रास्वपा लगायत स्वतन्त्र धारका अन्य समूहहरूको समर्थन हासिल गरे, भने यो उपनिर्वाचनको समीकरण एकदमै रोचक र प्रतिस्पर्धात्मक बन्न सक्छ।” यसबाहेक, स्थापित दलहरूप्रति जनस्तरमा देखिएको मोहभंग र विकल्पको खोजीले स्वतन्त्र उम्मेदवारका लागि नयाँ अवसर खोल्न सक्ने देखिएको छ।

अबको राजनीतिक प्रश्न यहीं छ – रुपन्देही–३ मा पुनः घण्टी बज्ने हो त? कि पुरानै अनुहारहरूको भिडन्तले पुरानै सत्ता संरचनालाई पुनः बलियो बनाउनेछ? चुनावी सन्देश स्पष्ट छ — जनताले अब नेतृत्वमा मात्र होइन, नियतमा पनि विकल्प खोजिरहेका छन्।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।