Shivam

देशैभर मनसुनी सक्रियता: चार प्रदेशमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

0
Burger

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय हुँदा अधिकांश भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको औंल्याउँदै बाढी, पहिरो र भूक्षयको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा सरदर स्थानकै हाराहारीमा अवस्थित छ । यसकै प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा मौसम आंशिक बदली छ।

दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । बाँकी भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातसमेत हुन सक्नेछ ।

आज राति कोशी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ । देशका बाँकी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना औंल्याएका प्रदेशहरूमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । वर्षाका कारण यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाको सुझाव छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।