Shivam

रुपन्देही–४ मा परिवर्तनको लहरः युवा र महिलाको रोजाइमा भोपेन्द्र यादव !

0
Burger

भैरहवा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय सचिव तथा प्रभावशाली नेता भोपेन्द्र यादव उम्मेदवार बनेसँगै यहाँको चुनावी माहोलले नयाँ मोड लिएको छ।

‘निकास र विकास’लाई मुख्य एजेन्डा बनाएर घरदैलो अभियानमा सक्रिय यादवप्रति जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको स्थानीयहरू बताउँछन्। गत निर्वाचनमा थोरै मतान्तर सहित विजय हुन नसकेका यादवको पक्षमा यसपटक निर्णायक समर्थन भएको देखिएको छ । लामो समयदेखि उपेक्षा, विभेद र सोचेअनुरूपको विकास हुन नसकेको रुपन्देही–४ (मर्चवार)का मतदाताले यसपटक वैकल्पिक, ऊर्जावान् र परिणाममुखी नेतृत्वको खोजी गरिरहेका छन्। यही जनचाहनालाई सम्बोधन गर्दै यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिको आधुनिकीकरण र सुशासनलाई आफ्नो मुख्य चुनावी प्राथमिकतामा राखेका छन्।

विगतदेखि नै स्थानीय समस्या र किसानका सवालमा आवाज उठाउँदै आएका भोपेन्द्र यादव अहिले विकास र स्थायित्वको स्पष्ट खाकासहित जनतामाझ पुगिरहेका छन्। घरदैलो अभियानका क्रममा उनले वृद्ध, महिला, युवा, किसान र मजदुरसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या सुन्ने र समाधानका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गर्ने शैली अपनाएका छन्। “धेरै नेताहरू जितेर गएपछि फर्किएनन्, तर भोपेन्द्रजीले हाम्रो समस्या बुझ्नुभएको छ र सधैँ साथमै हुनुहुन्छ,” एक स्थानीय मतदाताले उत्साहका साथ बताए।

विशेषगरी युवापुस्तामाझ यादवप्रतिको आकर्षण निकै तीव्र देखिएको छ। विदेश पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना, सीपमूलक शिक्षा र उद्यमशीलता प्रवद्र्धन गर्ने उनको योजनाले युवाहरूलाई उत्साहित बनाएको छ। त्यसैगरी, महिलाहरू पनि शिक्षा, स्वास्थ्य र आत्मनिर्भरता सम्बन्धी जनमत पार्टीको एजेन्डाबाट निकै प्रभावित देखिएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार रुपन्देही–४ मर्चवारमा विगतका सांसद तथा विधायकहरुले मर्चवारबासीलाई विकासको झुटा आश्वासन दिने गरेको तर केही पनि काम नगर्दा बढ्दो निराशा र असन्तुष्टिको फाइदा जनमत पार्टीले लिइरहेको छ। भोपेन्द्र यादवको स्पष्ट विचार, जनतासँगको निकटता र संगठनात्मक सक्रियताले उनलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ। विभिन्न समुदाय र वर्गका व्यक्तिहरू जनमत पार्टीमा प्रवेश गर्ने लहरले चुनावी माहोल झन्झन् यादवको पक्षमा मोडिँदै गएको देखिन्छ।

चुनावी प्रचारप्रसार अन्तिम चरणतर्फ उन्मुख भइरहँदा जनमत पार्टी सशक्त संगठन र जनआधारित अभियानसहित मैदानमा उत्रिएको छ। “अब भाषण होइन, समाधान चाहिन्छ” भन्ने जनभावनालाई आत्मसात् गर्दै अघि बढिरहेका भोपेन्द्र यादव रुपन्देही–४ मा परिवर्तनको बलियो आशाका रूपमा स्थापित भएका छन्। मौजुदा परिस्थितिमा उनको समर्थन निरन्तर बढ्दो क्रममा रहेकाले यस निर्वाचनमा जनमत पार्टी यस क्षेत्रमा निर्णायक शक्तिका रूपमा उदाउने सम्भावना बलियो देखिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।