फेरि चुलियो वाम एकताको चर्चा, झस्कियो कांग्रेस


काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा वाम एकताको बहस फेरि चुलिएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच भएको संवादपछि यो विषय चर्चामा आएको हो ।पोखरेलले कम्युनिष्ट सहकार्यका विषयमा पुनसँग टेलिफोन वार्ता गरेको खुलासा गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेपछि सत्ता गठबन्धनभित्र नै हलचल मच्चिएको बताइन्छ ।
आइतबार महासचिव पोखरेलले सामाजिक सञ्जालमा टिप्पणी गर्दै आफूले कम्युनिष्ट पार्टीबीचको ध्रुवीकरणको प्रयास गरे पनि वर्षमान पुनले आफूलाई राम्रोसँग नबुझेको बताएका थिए ।
अर्कोतर्फ, पुनले भने पाल्पामा आयोजित एक कार्यक्रममा पोखरेलले अध्यादेश पारित गर्न सहयोग मागेको तर आफूले अस्वीकार गरेको दाबी गरेका थिए। यस विषयमा पोखरेलले असन्तुष्टि व्यक्त गर्दै टेलिफोन संवादलाई ‘सहयोगको याचना’ भनेर प्रचार गरिएको प्रति आपत्ति जनाए । उनले सामाजिक सञ्जालमा लेखे, ‘कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्नु अबको बाटो हो । वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यही वातावरण तयार गर्नु हो ।’
एमाले महासचिव पोखरेलको वाम सहकार्यको अभिव्यक्तिले सत्तारुढ नेपाली कांग्रेसलाई असहज बनाएको छ । कांग्रेस नेताहरूले सत्ता गठबन्धनमा रहँदा एमालेले अन्य वाम दलहरूसँग सहकार्यको योजना बनाउनु आपत्तिजनक भएको बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवासम्मले समेत पोखरेलको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको नेताहरुको भनाई छ ।
देउवाले सचिवालयमार्फत पोखरेलको भनाइको आधिकारिकता पत्ता लगाउन निर्देशन दिएका छन् । कांग्रेसका संस्थापनइतर नेताहरू यसअघि नै एमालेसँगको गठबन्धनप्रति सशंकित थिए । अब पोखरेलको अभिव्यक्तिले उनीहरूको असन्तोष झनै बढाएको छ ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने वाम एकता तत्काल सम्भव नरहेको प्रष्ट पारेका छन् । सोमबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘एमालेको नेतृत्वमा केपी शर्मा ओली रहुन्जेल वाम एकता सम्भव छैन । उहाँको लक्ष्य संविधान खारेज गर्नु हो, हामी त्यस्तो नेतृत्वसँग सहकार्य गर्न सक्दैनौं ।’
यसैबीच, गृहमन्त्री रमेश लेखकले भने सत्ता गठबन्धन सुरक्षित रहेको र कुनै असहमति नभएको दाबी गरेका छन् । ‘व्यक्तिगत रूपमा नेताहरूले के कुरा गर्छन्, त्यो उनीहरूको विषय हो । तर, संस्थागत रूपमा कांग्रेस-एमाले गठबन्धन मजबुत छ, सरकार २०८४ को निर्वाचनसम्म सहमतिअनुसार अघि बढ्नेछ,’ उनले भने ।
