सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : माधव नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । सरकारको विकल्प खोज्नुपर्ने भएपनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने बताए ।
‘यो सरकारको विकल्प त खोज्नुपर्छ । तर विकल्प खोजेर पार लाग्दैन । किनभने दुई वटा पार्टी मिलेर सरकार बनेको छ । दुई वटा पार्टी मिलेसम्म सरकार कसैले बनाउन सक्दैन,’ उनले भने, ‘यो सरकारले यो व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची देखाएको छैन । त्यसकारण यो मुलुकको निम्ति बोझ बनेको छ ।’
वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची नदेखाएको उनको आरोप छ ।
अध्यक्ष नेपालले सकरारले परम्परा धान्ने गरी मात्रै नीति तथा कार्यक्रम ल्याएको बताए । उनले सरकार परिणाम बिहीन मात्र नभइ उद्देश्य बहीन हुन पुगेको जिकिर गरे । ‘परम्परा धान्ने गरी केही न केही त ल्याउनैपर्छ भनेर नीति र कार्यक्रम प्रश्तुत गरिएको छ । विगतमा जसरी सरकार परिणाम बिहीन थियो, अब उद्देश्य बिहीन पनि भएको अवस्था छ । विगतका राम्रा कुरलाई पनि छोडेको छ । पुराना कुराहरुको पुनरावृत्ति पनि गरेको छ । गतिहिन र यथास्थितिवादी अवस्थामा छ,’ उनले भने ।
अध्यक्ष नेपालले सरकार गतिहिन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाए ।
