ट्रम्पसँगको सम्बन्ध सुधार गर्न चाहन्छन् जेलेन्स्की


काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बिग्रिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । आइतबार युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध ब्युँताउन सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन् ।
शुक्रबार ट्रम्प र जेलेन्स्कीबीच राष्ट्रपति स्तरमा सौहार्दपूर्ण वातावरणमा छलफल भइरहँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हस्तक्षेप गर्दा माहोल गर्मिएको थियो । भान्स सिनेटर हुँदैदेखि जेलेन्स्कीका विरोधी हुन् । अमेरिकामा झगडा परेपछि सिधै बेलायत पुगेका जेलेन्स्कीले ट्रम्पसँग फेरि वार्ता हुन सके सम्बन्ध सुधार गर्नेसक्ने दाबी गरेका हुन् ।
‘मलाई लाग्छ हाम्रो सम्बन्ध टुटेको छैन, निरन्तरता नै छ । तर त्यस्ता छलफलहरू खुला हुनु हुँदैन थियो,’ उनले भने । अमेरिका सभ्य संसारको नेता भएका कारण पनि उसले युक्रेनलाई सहयोग बन्द नगर्ने पनि जेलेन्स्कीले बताए । ‘सभ्य दुनियाँको नेताको हैसियतले रूसी राष्ट्रपति पुटिनलाई सहयोग गर्न चाहँदैनन् भन्ने विश्वास छ । त्यसो नभए पनि युक्रेन सबै परिणामका लागि तयार छ,’ जेलेन्स्कीले भने ।
अमेरिकासँग खनिज सम्झौताका लागि आफू अझै पनि तयार भएको जेलेन्स्कीले बताएका छन् । उनी त्यही सम्झौताका लागि शुक्रबार ह्वाइट हाउस पुगेका थिए । तर ओभल अफिसमा चर्काचर्की परेपछि सम्झौता हुन नसकेपछि जेलेन्स्की बाहिरिएका थिए। यद्यपि सम्झौताका लागि पुनः छलफल हुन सक्छन् कि भनेर जेलेन्स्की निकैबेर ह्वाइट हाउस बाहिर कुरेको बताएका छ ।
